समाचार

म्याग्दीमा ४.७ रेक्टरको भूकम्प

म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका २ लुलाङलाई केन्द्रविन्दु बनाएर शुक्रबार (आज) साँझ ६:२६ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको छ।राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक राकेश शर्माका अनुसार अहिले भर्खरै गएको यो भूकम्प लुलाङलाई केन्द्र विन्दु बनाएर गएको हो।

‘यो गोरखा भूकम्पको नयाँ पराकम्प होइन्,पश्चिम क्षेत्रमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्छ’, उनले भने। उनका अनुसार म्याग्दी क्षेत्रमा गएको भूकम्पबाट त्रसित हुनुपर्ने अवस्था भने छैन। लुलाङ आसपासका क्षेत्रमा सामान्य क्षति भएको अनुमान गरिएको छ। तर क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के
म्याग्दीको सदरमुकाम बेनीस्थित संघीय सरकार मातहतका कार्यालयको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो।

हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासनको अवस्थासँग सम्बन्धित विभिन्न सूचकमा केन्द्रित रहेर अनुगमन गरिएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिए।

अनुगमनका क्रममा भेटिएका कमजोरी सुधारका लागि स्थलगत रूपमै निर्देशनसमेत दिएको प्रशासनले जनाएको छ। मालपोत कार्यालयका ५, जिल्ला हुलाका एक र नापी कार्यालयका दुई जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएको भेटिएको थियो।

जिल्ला समन्वय समिति, जिल्ला आयोजना कार्यान्वयन इकाई, कारागार कार्यालय, जिल्ला हुलाक कार्यालय, मालपोत र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अनुगमन गरिएको थियो। दरबन्दीको तुलनामा न्यून कर्मचारीको पदपूर्ती हुँदा सेवा प्रवाहमा कठिनाई भएको र कर्मचारीलाई कार्यबोझ भएको पाइएको छ।

कर्मचारीको उपस्थितिका साथै नागरिक वडापत्र, सूचना अधिकारी, धुम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थ सेवन निषेध र म भ्रष्ट्राचार गर्न र हुन दिन्न भन्ने प्रतिवद्धता लेखिएको ब्यानर भए नभएको विषयमा अनुगमन गरिएको थियो। प्रदेश र स्थानीय तहका कार्यालयहरुमा पनि छड्के अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।

Related Articles

Close
Close